सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । प्रथम संस्करणकोनेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् ।
आज भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनल पुगेसँगै सुदूरपश्चिमसँग उपाधि भिडन्तमा शनिबार भिड्ने भएको हो ।
यसअघि पहिलो क्वालिफायरमा जनकपुर सुदूरपश्चिमसँग पराजित भएको थियो ।
दोस्रो क्वालिफायर खेल
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि ११९ रनको चुनौती पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गमाएर पूरा गर्यो ।
अन्तिम चार ओभर फिल्डिङमा धेरै नै गल्ती गर्दा निकै राम्रो खेलेको कर्णाली हार्न पुगेको हो ।
जनकपुरका लागि जेम्स नीशमले १७ बलमा ४५, हर्ष ठाकेरले १७, शेर मल्लले १० बलमा अविजित रहँदै १६ रन बनाए ।
कर्णालीका लागि मात्र १६ वर्षे खेलाडी बिपिन शर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । उनी ‘स्लो लेफ्ट आर्म अर्थोडक्स’ हुन् । उनले यो लिगमा ९ विकेट लिएका छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनायो । गुल्सन झाले २५ तथा देव खनालले २४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशी, जेम्स नीशम र मोहम्मद मोहसिनले २–२ विकेट लिए ।
जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो ।