सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा, जनकपुर बोल्ट्स ८ विकेटले पराजित

बुधबार, पुस ३, २०८१

काठमाडौँ । पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको फाइनलमा सुदूरपश्चिम रोयल्स    प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । 

सुदूरपश्चिमले १४० रनको मध्यम चुनौती १८.३ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । विनोद भण्डारीले ५५ बलमा अविजित रहँदै ५८ रन जोडे। त्यस्तै सैफ जैबले ३२, ब्रान्डन म्याकमुलेनले २५ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १६ बलमा अविजित रहँदै २० रन बनाए । 

यसअघि खेलमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३९ रन बनायो। जेम्स नीशमले सर्वाधिक २३ बलमा ४५ रन बनाएको इनिङ्समा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले २९ रन खर्चेर ३ तथा सैफ जैबले २ विकेट लिए । 

लिग चरणमा पनि सुदूरपश्चिम हावी भएको थियो। सुदूरपश्चिमले जनकपुरलाई लिग चरणमा ७२ रनले पराजित गरेको थियो । 

विजेता सुदूरपश्चिमले फाइनलमा उपाधिका लागि शनिबार दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । 

दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टिम जनकपुरले इलिमिनेटर खेलको विजेता कर्णाली याक्स बिहीबार मध्यान्ह भिड्ने छन् । 

कर्णालीले आजै भएको इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । दोस्रो क्वालिफायर बिहीबार मध्यान्ह १२ बजे शुरु हुनेछ । 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्