सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीसहित ४ वटा अभियोगमा आज अदालत उपस्थित गराइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेलाई उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लगिएको हो।
पछिल्लो पटक थपिएको चार दिनको म्याद आज सकिने भएसँगै थप केही समय हिरासतमा राखेर अनुसन्धान गर्ने गरी म्याद थप गराउन लगिएको हो । उनी सहकारी ठगी प्रकरणमा कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । त्यहाँबाट पोखरा ल्याई ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।
सहकारी ठगीबारे पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको बयान सकिएसँगै पाँच ओटै सहकारीको बयान सकिएको छ ।
तत्कालका लागि सहकारीको बयान सकिएको भए पनि उनीमाथि लागेका संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको अनुसन्धान पनि चलिरहेको छ । उक्त प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने प्रहरीले अनसन्धानकै क्रममा रहेको बताएको छ । अनुसन्धान सकिएपछि उनीविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नुपर्नेछ ।
पाँच जिल्लामा छुट्टाछुट्टै उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भइ सरकारी वकिलको कार्यालयले बयान लिएको भएपनि अब भने पाँच ओटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् ।
सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी व्यवस्था रहेको छ । रविसँगै उनका गोर्खा मिडिया प्रालिका साझेदार पूर्व डीआईजी छविलाल जोशीसमेत असोज ६ गतेदेखि नै प्रहरीको थुनामै छन् ।
९० दिन थुनामा राख्न पाउने भएकाले छविको हिरासत समय सकिन १० दिनमात्र बाँकी छ । १० दिन भित्रै छवि र रविका बारेमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्नेछ ।
पाँच ओटै जिल्ला अदालतले साधारण तारेख वा धरौटीमा छोड्ने आदेश दिए मात्रै उनीहरु थुनामुक्त हुनेछन् ।पाँचमध्ये कुनै एउटा अदातलले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे भने थुनाका लागि कारागार चलान हुनेछन् ।