एनपीएल: सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हरायो

बिहीबार, मंसिर २०, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा सुदूरपश्चिम रोयल्सले शानदार जित हासिल गरेको छ । लिगको नवौँ खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गरेको हो । 

त्रिवि कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १६७ रन बनायो । ब्रान्डन म्याकमुलेनले ५३, कप्तान दिपेन्द्र सिंह ऐरीले ४३ तथा विनोद भण्डारीले ३५ रन बनाए । काठमाडौँको रशिद खानले २ विकेट लिए । 

जवाफमा काठमाडौँले १५.५ ओभरमा अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो । स्टेफेन एस्किनाजीले सर्वाधिक ३७ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा नरेन साउदले ३।५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । 

त्यस्तै अबिनाश बोहराले २ विकेट झारे । यो हारसँगै काठमाडौँको ३ खेलमा २ अंकमात्र छ भने २ खेलमा ४ अंकको सुदूरपश्चिम दोस्रो स्थानमा पुगेको छ । 

तीन खेलबाट ६ अंकसहित जनकपुर बोल्टस् शीर्ष स्थानमा रहेको छ । 

यसअघिको आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्