सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । जनपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । अफ्नो दोस्रो खेलम तथा प्रतियोगिताको तेस्रो खेलमा जनकपुरले कर्णाली याक्समलाई ८ विकेटले पराजित गरेको हो।
१४२ रनको सामान्य चुनौती जनकपुरले १५.१ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । प्लेयर अफ द म्याच कप्तान अनिल साहले ४२ बलमा अविजित रहँदै ६२ रन जोडे । त्यस्तै पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले २९ बलमा ३६ रन जोडे ।
लहिरु मिनान्थाले १३ बलमा २४ तथा जेम्स नीशमले ८ बलमा अविजित रहँदै १६ रन बनाए ।
यसअघि कीतिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १४१ रन बनायो ।
कर्णालीका लागि महँगा भारतीय खेलाडी शिखर धवन (गब्बर) सहितका विदेशी खेलाडीहरु फ्लप भएपछि नेपाली खेलाडीले नै सम्मानजनक योगफल बनाए ।
गुल्सन झाले २७ बलमा ३६, अर्जुन घर्तीले २२ बलमा ३३ तथा कप्तान सोमपाल कामीले १३ बलमा अविजित रहँदै २९ रन बनाए । त्यसबाहेक शिखर धवनले १४ बलमा १४, हङकङका बाबर हायतले २५ बलमा १२ तथा वेष्ट इन्डिजका चाडविक वाल्टनले १२ बलमा ८ रनमात्र बनाए ।
जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए ।यो कर्णालीको पहिलो खेल हो भने जनकपुरले दोस्रो खेल खेलेको हो । जनकपुरले पहिलो खेल जितेको थियो ।
यसअघि उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो । एनपीएलमा आठ टिम रहेका छन् ।