सकियो स्थानीय तह उपनिर्वाचनको मतदान

आइतबार, मंसिर १६, २०८१

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सवै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए । मतदान सम्पन्न भए पनि कति प्रतिशत मत खस्यो भन्ने बारेमा भने अन्तिम जानकारी पाउन समय लाग्ने निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

उनका अनुसार अपरान्ह ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको थियो । आज २९३ मतदान केन्द्रबाट मतदाताले मत प्रकट गरेका छन् ।
काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भएको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । 

आज रातिबाट नै परिणाम आउन शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पूर्व जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्