सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् ।
आज निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गर्नुभएको हो। केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रचण्डले हप्ताको दुई-तीन पटक नेपाली कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका थिए ।
सोही बारेमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै प्रचण्डले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरूमार्फत आग्रह गरेको बताए । उनले महामन्त्री थापालाई आफूले युवा नेताको रूपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको बताए । जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको उनको टिप्पणी थियो । कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रूपमा कुरा नभएको दाबी गरे । महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिए।
उनले भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिलकुल होइन । यो भन्दा सफेद झुट अरू केही हुनै सक्दैन । मैले त अहिले बोल्न पनि चाहिरहेको थिइनँ, यो विषयमा । अब तपाईँहरूले सोधिहाल्नुभयो । गगन थापालाई मैले एउटा युवा नेताको रूपमा उनसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उनमा आएको परिवर्तन र उनले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ । कति तल कति छिटो झर्न सकेको हो । त्यस्तो एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्न सक्ने भएको देख्दा उनप्रति मलाई साँच्चै दया लागेको छ । तपाईँहरूले सोधी नै हाल्नुभयो । शतप्रतिशत झुटो कुरा हो । मैले भनेको छैन, बरु भन्दा पनि भन्दिन । मलाई त सरकारबाट बाहिर आएर जनतामा जाँदा नै हामीलाई सहज भइरहेको छ । सरकार तपाईँहरू ०८४ सम्म नै चलाउनुस् भनेको छु । मेरो शेरबहादुर देउवाजीसँग यो विषयमा कहीँ कतै प्रत्यक्ष, परोक्ष केही कुरा भएकै छैन । यस्तो झुटो कुरा गगनजी तपाईँ आत्मसमीक्षा गर्नुहोला भन्न चाहन्छु ।’