'टोल–टोलमा काँग्रेस' अभियानले उत्साह ल्याएको छ: क्षेत्रीय सभापति केसी

शनिबार, मंसिर १५, २०८१

बाँके  । बाँके क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसले ‘टोल–टोलमा काँग्रेस अभियान’लाई तीब्रता दिएको छ ।

राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र कोहलपुर नगरपालिका क्षेत्र समेटिएको क्षेत्र नम्वर १ मा क्षेत्रीय सभापति पोषण केसीको नेतृत्वमा टोल–टोलमा काँग्रेस अभियानलाई तीब्रता दिइएको हो । दुई सय ५० बढी टोल रहेको यी क्षेत्रमा हालसम्म एक सय टोलमा अभियान पूरा भएको सभापति केसीले बताए । 

‘यसअघिका अभियानहरु वडासम्म पुग्ने गरेका थिए,' उनले भने–‘तर यो पटक टोल–टोलमा पुगेर स्थानीयका समस्या सुन्ने र समाधानका लागि पनि पहल गर्ने गरेका छौं । कार्यकर्ताहरु पनि उत्साहित भएका छन् ।’ जुन–जुन समस्या स्थानीयले उठाउने गरेका छन्, ती समस्याको सम्वन्धीत निकायबाट समाधानको प्रयास तत्काल थाल्ने काम भइरहेकाले स्थानीय कार्यकर्ताहरु खुसी भइरहेको उनले बताए । ‘राप्तीसोनारीको बैजापुरमा स्थानीय १७–१८ जना थारु युवाहरुलाई झुट्टा मुद्दा लगाएर फसाइएको रहेछ,ु उनले भने–‘हाम्रो टोल अभियानमा परिवारले दुखेसो पोखे, तत्काल सरकारी वकिल र प्रहरी प्रशासनसँग सहकार्य गरेर उनीहरुलाई न्याय दिन सकियो ।’ 

स्थानीयबासीहरुले सडक, विजुली बत्ती लगायतका सवालमा गुनासो गर्ने गरेको पाइएको पनि उनले बताए । ती समस्या समाधानका लागि तत् कार्यालयहरुसँग समन्वय र सहकार्य गर्ने काम आफूले गर्दै आएको पनि उनले बताए । स्थानीय सरकारसँग थुप्रैका गुनासाहरु रहेकाले ती गुनासो सम्वोधन गर्न स्थानीय सरकारसँग पनि समन्वयकारी भूमिका खेल्ने गरिएको उनको भनाई छ । 

अभियान अन्तर्गत शुक्रबार कोहलपुर नगरपालिका वडा नम्वर ४ र ११ मा कार्यक्रम गरिएको छ । दुबै कार्यक्रममा उपस्थित काँग्रेस कार्यकर्ताले आगामी २०८४ सालमा हुने निर्वाचनका लागि अहिलेदेखि नै जनताका समस्या र गुनासालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको र संगठनको आन्तरिक जीवनका साथै विकास निर्माणका योजना तथा स्थानीय जनताले भोग्नुपरेका समस्या र समाधानको उपायका बारेमा छलफल गरिएको क्षेत्रीय सभापति केसीले बताए । 

कोहलपुरको वडा नम्वर १ मा अभियान सम्पन्न भइसकेको छ । यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्वर २ मा आज शनिवार टोल–टोलमा काँग्रेस अभियान राखिएको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले बताए । राप्तीसोनारीका वडा नम्वर १,३, ४, ५, ६, ७ र ८ मा टोल–टोलमा काँग्रेस अभियान सम्पन्न भइसकेको छ । वडा नम्वर ९ मा भने बाँकी छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्