नौवस्ता औद्योगिक क्षेत्रको निर्माण अघि बढाउन सरकारको ध्यानाकर्षण
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढाउन बैजनाथको सर्वदलीय टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ ।
सर्वदलीय टोलीले आज बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटार पुगी औद्योगिक क्षेत्र निर्माणका विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएको टोलीमा सहभागी कांग्रेस नेता आशिष काफ्लेले जानकारी दिए । भेटमा प्रधानमन्त्री ओलीले नौवस्ता औद्योगिक क्षेत्र निर्माण सरकारको प्राथमिकतामा रहेको बताएको कांग्रेस नेता काफ्लेले बताए ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले नौवस्ता औद्योगिक क्षेत्रभित्र बसोबास गरिरहेका जनताको तत्काल व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन सरकारलाई आग्रह गरिएको बताए ।
त्यसक्रममा प्रतिनिधिसभाका सांसदहरु आशा विक, दिपा शर्मा, सूर्य ढकाल, प्रदेशसभा सांसदहरु बादशाह कुर्मी, रत्न खत्रीलगायत विभिन्न दलका प्रतिनिधिहरुको सहभागिता थियो।