लुम्बिनीका सामाजिक विकासमन्त्री तिमिल्सिनाले कर्मचारीलाई भने-इमानदारीपूर्वक काम गर्नुहोला

बुधबार, मंसिर १२, २०८१

नेपालगन्ज। लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कर्मचारीहरुलाई ईमानदारपूर्वक काम गर्न निर्देशन दिएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन बाँकेको आयोजनामा मन्त्रीको बधाई, स्वागत तथा सम्मानमा बुधबार नेपालगन्जमा आयोजित कार्यक्रममा उनले कर्मचारीहरुको सहयोग भएन भने अपेक्षाकृत काम गर्न नसकिने बताए । उनले जिम्मेवारीमा बसिसकेपछि इमानदार भएर काम गर्नु पर्ने बताए । उनले भने-"जहाँ काम गर्नु हुन्छ त्यहाँ इमानदार भएर काम गर्नुस् । जनतालाई सेवा दिनुहोला।"

 उनले कर्मचारी सरुवामा हुने पहुँचलाई रोक्नु पर्ने बताए । उनले दुई ठूला दल एक ठाउँमा आउनुलाई जनताको आवश्यकता हो भनेका छन्। कांग्रेस र एमाले नमिल्दा मुलुकमा अस्थिरता कायमनै रहने अवस्था देखिएपछि ठूला दुई दल मिलेको उनले बताए । मुलुक अब कसैको छलकपट र झुटमा नचल्ने भन्दै उनले नागरिकलाई सहज सेवा दिनु जनप्रतिनिधि र कर्मचारी दुबैको भूमिका भएको बताए ।

उनले बाँके बर्दियाको विकासमा आफ्नो सधैंव अगुवाइ गर्ने बताए । यस्तै नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल अधिकारीले कर्मचारी देशको स्थायी सरकार भएकाले मन्त्रीलाई सफल बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताए ।  उनले बाँके बर्दियाको विकास निर्माणमा सहजीकरण गर्न मन्त्री तिमिल्सिनासंग आग्रह गरे । उनले बाँके बर्दियाको बिकास निर्माणका कामको अगुवा गर्न पनि उनले मन्त्रीसँग आग्रह गरे ।

यस्तै नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले मन्त्री तिमिल्सिनाले कर्मचारीहरुले नागरिकहरुलाई सुशासन दिन आवश्यक रहेको बताए । जनताका प्रत्येक समस्यासंग कर्मचारीहरु जानकार रहेकाले त्यसैअनुसार सेवा दिन आग्रह गरे । उनले मुलुकको परिवर्तनप्रतिको बिश्वास कायम राख्ने दायित्व कर्मचारीको पनि भएको बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले युनियन आवद्ध कर्मचारीहरुलाई नागरिकमत्री सेवा दिन सुझाव दिइन् । सार्वजनिक लेखा समिति सदस्य समेत रहेकी उनले बेरुजु फर्स्यौटमा सहयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गरिन । यस्तै लुम्बिनी प्रदेशसभा सदस्य शुशिला वादी नेपालीले देशलाई असल बाटोमा लैजान कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

उनले देशलाई सुशासनको बाटोतिर लैजान लुम्बिनी प्रदेश सरकारलाई सुझाव दिइन् । नेपाल निजामती युनियनका नेता मानबहादुर गिरीले मन्त्रीले बनाएका योजनाहरु कर्मचारीहरुले कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने-"ञमन्त्री ज्युमा काम गर्ने हुटहुटी छ । अत्यन्तै सहज, सरल र सादगी भएको पनि मैले पाएको छु । उहाँले बनाएका योजनाहरु स्वभाविकरुपमा कार्यान्वयन गर्ने हाम्रो दायित्व हो । अझ युनियनका कर्मचारीहरुले थप सहजीकरण गरेर सहज बनाइदिनु पर्छ ।" उनले प्रदेश सरकारले लिएका योजना र नीतिगत कुराहरु युनियनका कर्मचारीहरुले कार्यान्वयन गरेर सहजीकरण गरिदिनु पर्ने बताए ।

कार्यक्रममा पूर्व कर्मचारीहरुको तर्फबाट शिवराज तिमिल्सिना, नेपाल निजामती कर्मचारी युनियन बाँकेका महाधिवेशन प्रतिनिधि नगेन्द्र शाही लगायतले बोलेका थिए । नेपाल निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्वव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव पवन बुढाले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्