रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

मंगलबार, मंसिर ११, २०८१

काठमाडौं   । कास्की प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइदैछ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई आज काठमाडौँ ल्याइने लागिएको कास्की प्रहरीले जानकारी दिएको छ।

काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा लामिछानेको नाम जोडिएपछि अदालतबाट पक्राउ अनुमति जारी भएको छ । योसँगै उनलाई बयानका लागि काठमाडौँ ल्याउन लागिएको हो ।

बिहानै ल्याउने भनिएको भए पनि टिकटमा समस्या भएका कारण उनलाई बिहान ल्याउन नसकिएको प्रहरीले जनाएको छ । टिकट मिलेपछि काठमाडौँ ल्याइने  भएको छ । 

प्रहरीका अनुसार उनलाई भोलिसम्म काठमाडौँमा राखेर बयान लिइने छ भने त्यसपछि चितवन लगेर बयान लिइने छ । स्रोतका अनुसार यही बेलामै पर्सा प्रहरीले पनि पक्राउ पुर्जाी जारी गरेमा उनलाई चितवनबाट वीरगञ्ज लगेर बयान लिइ पोखरा फिर्ता पठाइने छ । 

यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि मुछिएका लामिछानेविरुद्ध पुर्जी जारी भएको थियो । त्यसपछि लामिछानेलाई रुपन्देही पुर्याई चार दिनमा २२ घण्टा लगाएर बयान लिइएको थियो । 

चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पनि रविसहित १० जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।

आइतबार कास्की जिल्ला अदाललतले हिरासतमा राख्न १५ दिन म्याद थप गरिदिएर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

सहकारी ठगीमा इन्कारी जवाफ दिइरहेका लामिछानेले विभिन्न सहकारीमा ऋण तिर्न कोटेको चेक फेला परेका समाचार बाहिरिएका छन् । यस विषयमा उनले जवाफ दिन आलटाल गरेको प्रहरी स्रोतले जनाएको छ ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप भएको थियो ।

काठमाडौँमा छविलाल जोशीको भने बयान लिइसकेको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई कात्तिक २५ गते छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्