प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका बारेमा छलफल

सोमबार, मंसिर १०, २०८१

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका बारे आज छलफल हुँदैछ । मंसिर १७ गते सोमबारदेखि हुन लागेको उनको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको जनाएको छ । 

सो छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुनेछ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदैछन् ।

यसपालि चिनियाँ ऋणको परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अगाडि बढाउने कि नबढाउने भन्ने विवाद उत्कर्समा छ । 

प्रधानमन्त्री ओली भने यसलाई अगाडि बढाउने कसरतमा लागेको बुझिएको छ । यद्यपि प्रमुख सत्ता घटक नेपाली कांगेसले ऋणमा बीआरआई स्वीकार्न नसकिने बताइसकेको छ । 

तर पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदलेर बीआरआई ऋण कम प्रतिशतमा झारेर सहमति हुन सक्ने अनुमान भइरहेको छ । 

यसबारेमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेको स्रोतको दाबी छ ।बीआरआईका विषयमा अहिले अनेक अड्कल भइरहेका छन् । कसैले महँगो ब्याजमा ऋण लिनुहुन्न भनिरहेका छन् भने कसैले छिमेकीसँग महँगै भए पनि लिुनपर्ने धारणा राखिरहेका छन् ।

विशेषगरी कम्युनिष्ट घटकहरु चीनलाई चिढ्याउन खोजिरहेका छैनन् भने लोकतान्त्रिक घटकहरु विश्व बैंक र एसियाली विकास बैंकले दिएको सस्तो ऋण छाडेर महँगोमा चीनसँग लिन जरुरी नभएको बताएका  छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्