सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई आज अदालत लगिँदै छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रविलाई म्याद थपका लागि चौथो पटक कास्की जिल्ला अदालत लगिने भएको हो ।
रविको हिरासतमा बस्ने म्याद २४ गते शनिबार नै सकिएको थियो । उनलाई अदालत लैजाने समय एकीन नभएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत लगिँदैछ ।
कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो ।
कास्की जिल्ला अदालतल कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो।
यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्याइएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा उनीसँग चार दिनमा करिब २२ घण्टा लगाएर बयान लिइएको थियो । बयानमा क्रममा सोधिएका ६० प्रश्नमा उनले इन्कारी जवाफ दिएको बताइन्छ ।
कास्कीमा आज पनि म्याद थप भए केही दिनमै काठमाडौँ लैजाने तयारी छ । अदालतले रिहा गरिदिए लगत्तै पक्राउ गरेर काठमाडौँ पठाउने प्रहरीको तयारी छ ।
उनीमाथि विभिन्न मुद्दामा अनुसन्धान भइरहेकाले म्याद थप हुने सम्भावना बढी रहेको बताइन्छ । लामिछानेलाई बयानका लागि काठमाडौँ पठाउने विषयमा छलफल भइरहेको डीएसपी शर्माको भनाइ ।
लामिछानेलाई आज अदालतले म्याद थप गरिदिए केही दिनमा र रिहा गर्ने निर्णय गरे आजै पक्राउ गरी रुपन्देही पठाइने सम्भावना रहेको डीएसपी शर्माले बताए ।
काठमाडौँमा जोशीको बयान लिइसकेको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई कात्तिक २५ छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो ।
यस्तै, सूर्यदर्शन सहकारीको रकम अपचलनमै कास्की प्रहरी हिरासतमा रहेका लीला पछाइ र व्यवसायी रामबहादुर खनाललाई पनि अदालतले कात्तिक २५ गते १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
सूर्यदर्शन सहकारीकै रकम अपचलन आरोपमा कुमार रम्तेल पनि कास्की प्रहरी हिरासतमै छन् । उनीमाथि पनि अनुसन्धान जारी छ । उनलाई काठमाडौँमा बयान सकेर केही दिन अघि नै कास्की फर्काइएको थियो ।