१३ किलो बढी गाँजासहित महिला पक्राउ, १५ वर्ष कैद भएकासहित तीन फरार प्रतिवादी नियन्त्रणमा

शनिबार, मंसिर ८, २०८१

नवलपरासी पश्चिम । नवलपरासी प्रहरीले ठुलो परिमाणको गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ।

नवलपरासी पश्चिम स्थित रामग्राम नगरपालिका-१२ पचगवाकी ५० वर्षीया रेसमा देवी भरलाई १३ किलो ८८० ग्राम गाँजासहित उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

विशेष सूचनाका आधारमा रेसमाले आफ्नै घरबाट लागुऔषध विक्रीवितरण गर्ने गरेको जानकारी पाए पश्चात् जिल्ला प्रहरी नवलपरासी पश्चिमबाट गएको टोलीले शुक्रवार दिउँसो घर खानतलासी गर्ने क्रममा उक्त १३ किलो ८८० ग्राम गाँजा बरामद गरिएको हो।

पक्राउ परेकी रेसमालाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ।

फरार प्रतिवादी पक्राउ 

नवलपरासी पश्चिम प्रहरीले तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई जेल सजाय पाएर फरार भएका नवलपरासीस्थित रामग्राम नगरपालिका-१७ की रिता कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो।

रितालाई जिल्ला अदालत नवलपरासीले  २०७९ फागुन ३० गते मानव बेचबिखन तथा ओसारपसार  मुद्दाम दोषी ठहर गर्दै १५ वर्ष जेल सजाय सुनाएको थियो।

त्यस्तै चोरी मुद्दाका नवलपरासीक बर्दघाट नगरपालिका- १२ भटौलिया घर भएका अर्का फरार प्रतिवादी अजय भन्ने जय किसन हरिजनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। अजयलाई जिल्ला अदालत नवलपरासीले २०७८ मंसिर २२ गते चोरी मुद्दामा १९ दिन कैद र २० हजार रुपैयाँ जरिवाना गरेको थियो।

यसैगरी झुट्ठा बकपत्रका लागि अदालतबाट दोषी ठहर भएर फरार रहेका नवलपरासीकै रामग्राम नगरपालिका-९ का दशरथ कहालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला अदालतले २०५९ असार ३१ गते झुट्ठा बकपत्रमा २५० रुपैयाँ जरिवाना सुनाएको थियो।

उनीहरुलाई मंसिर ६ र ७ गते पक्राउ गर्दै आबश्यक कारबाहीका लागि जिल्ला अदालत नवलपरासी पश्चिममा बुझाइएको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्