बीआरआई प्रोजेक्टमा विकासका कुराहरूमा अनुदान मात्रै लिने नीति कांग्रेसको छ: निधि

शुक्रबार, मंसिर ७, २०८१

जनकपुर। राष्ट्रिय स्तरमा छलफल नगरी बीआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने नेपाल कांग्रेसका नेता विमलेन्द्र निधीले बताएका छन् । 

जनकपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा आज कांग्रेस नेता निधीले हतारमा सम्झौता गरेर पछुताउनु भन्दा विस्तृत रूपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका हुन्। 

उनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बीआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उल्लेख गरे । उनले नेपाली कांग्रेसले चीनबाट बीआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरूमा अनुदान मात्रै लिने नीति अङ्गालेको बताए । 

बीआरआईअन्तर्गत ऋण लिन आफूहरूले नचाहेको बताए । उनले बीआरआई प्रोजेक्टमा व्यापक, विस्तृत रूपमा राष्ट्रिय स्तरमा छलफल हुनु जरुरी रहेको उल्लेख गरे । 

उनले भने, ‘बीआरआई चिनियाँ पोलिसी हो । त्योअन्तर्गत हाम्रो स्ट्याण्ड चर्चाको विषय छ । प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा केके कुरा सही गर्ने ? केके कुरा सम्झौताहरू गर्ने भन्ने विषयमा । नेपाली कांग्रेसको शुरुदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बीआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरूमा अनुदान मात्रै लिन्छौँ । लोनमा हामी जाँदैनौँ । मूल विषय त्यही हो । हाम्रो तर्फबाट शेरबहादुरजीले र पार्टीले प्रधानमन्त्रीज्यूलाई भनिसक्नुभएको छ । चीन जाँदा खेरी अनुदान बाहेक लोनमा सही नगर्ने भनेर । बीआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रिय स्तरमा छलफल हुनुपर्छ। त्यति मात्रै होइन, म त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति छु । बीआरआई प्रोजेक्ट नेपालको हितमा छ की छैन ? बीआरआई पोलिसीअन्तर्गत केके विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्