सार्वजनिक स्थानमा फोहर फाल्ने आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

बिहीबार, मंसिर ६, २०८१

नेपालगञ्ज ।  सार्वजनिक स्थानमा फोहर फाल्ने एक कम्पनीलाई जरिवाना तिराएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने आशिर्वाद पेन्ट्स प्रालिलाई फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको हो। 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर र ढोडेगाउँ बीचमा रहेको दोदरा नालामा सार्वजनिक स्थान दुर्गन्धित हुने गरी फोहोर फाल्ने ग१ ख ६४३ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई अस्थायी ट्राफिक प्रहरी पोष्ट गनापुरले कारवाहीका लागि नेपालगञ्ज उपमहानगरपालिकामा पठाएको थियो ।

अभिनब बर्माले सामाजिक संजाल 'फेसबुक' मा सामग्री पोष्ट गरेर जानकारी गराए पश्चात नगर प्रहरीको पहलमा ट्राफिक प्रहरीले गाडी समातेको हो ।

नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोमैला फाल्ने विरुद्ध शून्य सहनशिलताको नीति लिएको बताउँदै लुकीछिपी फोहोर फालेको देखेमा जानकारी गराउन आग्रह गरेका छन् ।

विष्टले नगर सफा राख्नु सबै नगरबासीको साझा दायित्व भएको भन्दै फोहोरमैलाको उचित व्यवस्थापनका लागि सबै गम्भीर बन्नुपर्ने बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्