सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नरैनापुर(बाँके) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना तर्जुमा गर्ने बताएका छन् ।
बाँकेको नरैनापुरमा नेकपा एमालेले आयोजना गरेको बिशेष कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकितामा राखेर योजना तर्जुमा गर्ने स्पष्ट पारे । ‘प्रदेश समग्र विकास नरैनापुरको विकाससंग जोडिएको छ । यहाँका नागरिकको जीवनस्तर उठेपछि प्रदेशको विकास भएको मानिनेछ,’ मुख्यमन्त्री आचार्यले भने, ‘त्यही भएर नरैनापुरको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिंचाई सबै प्रकारको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’ सिमान्तकृत समुदायको जीवनस्तर उठाउने गरी कार्यक्रम निर्माण गरेको उनले बताए ।
आचार्यले नरैनापुर लगायतका क्षेत्रको अवलोकन गर्ने क्रममा प्राप्त भएका मागहरुलाई आगामी बर्षको बजेटमार्फत सम्वोधन गर्ने प्रतिबद्धता जनाए । ‘यहाँहरुको समस्यालाई प्रदेश सरकारले नजिकबाट हेरेको छ । बुझेको छ । हामी आउने बर्षको बजेटमार्फत सम्वोधन गर्छौं,’ उनले भने ,‘चालु बर्षको बजेट बनिसकेको छ । बजेट रकमान्तरण गर्न मिल्दैन । पूरक बजेट ल्याउन मिल्दैन । आउँदो बर्षको बजेटमा सरकारले उच्च प्राथमिकतामा राख्नेछ ।’ नरैनापुरको समग्र विकासमा तीन तहका सरकारले एकिकृत योजना निर्माण गरेर कार्यान्वयनमा लग्न सकिने भएकाले त्यसका लागि समन्वय गरिने भनाई मुख्यमन्त्री आचार्यको छ ।
संघीय सरकारले जनताको तटबन्ध कार्यक्रममार्फत राप्ती नदी तटबन्ध गर्दै आइरहेको छ । तर, तटबन्धको कामले गति लिएको छैन । जनताको तटबन्ध कार्यालयका प्रमुखसंग छलफल गर्ने, त्यहाँबाट सम्वोधन हुन नसके प्रदेश सरकारले तटबन्धको योजना अघि बढाउने उनले बताए । ‘नरैनापुरमा विगत र वर्तमानमा भएको प्रगतिको तुलना गर्न जरुरी छ। २०७४ साल अघि र त्यसपछि भएका कामको तुलना ग¥यौं भने सही मार्ग प्राप्त हुनेछ,’ उनले भने ,‘केही भएको छैन भन्ने भाष्यलाई तोड्न जरुरी छ । तीन तहका सरकारले काम गरिरहेका छन् ।’
सिंचाईको वर्तमान समस्या सिक्टा सिंचाई आयोजना कार्यान्वयनमा आएपछि समाधान हुने उनले बताए । ‘यहाँको सिंचाईको समस्या सिंगो प्रदेशको समस्या हो भनेर बुझेका छौं । त्यस अर्थमा यहाँको सिंचाई समस्या समाधान भएपछि नागरिकको जीवनस्तर सुधार हुनेछ,’ उनले भने, ‘संघीय सरकारले यस आयोजनालाई गति प्रदान गर्नेछ । केही दिनमा यहाँको अध्ययन पनि हुँदैछ।’