स्थानीय तह उपनिर्वाचन: कांग्रेसबाट दुई जिल्लाका जिसस प्रमुखमा निर्विरोध निर्वाचित

बुधबार, मंसिर ५, २०८१

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छिन् ।

प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौराले उम्मेदवारी फिर्ता लिएसँगै नेपाली कांग्रेसकी चौधरी निर्विारोध भएकी हुन् ।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतीले उम्मेदवारी फिर्ता लिएकी हुन् ।

कैलाली जिससमा कांग्रेस र नाउपाको उम्मेदवारी परेको थियो । कांग्रेसलाई एमालेले समर्थन गरेको कारण चौधरीको जित निश्चित देखेपछि नाउपाले उम्मेदवारी फिर्ता लिएको हो ।

यसअघि ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका थिए । 

आज उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको थियो । आजै अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरी चुनाव चिन्ह दिँदैछ । मंसिर १६ गते चुनाव हुनेछ । 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्