पूर्व सभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

सोमबार, मंसिर ३, २०८१

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

आर्यघाटमा नेपाली सेनाको एक टुकडीले दिवङ्गत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए। 

पूर्व सभामुख ढुङ्गानाको सम्मानमा १७ तोपको सलामी समेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्व सभामुख ढुङ्गानाको आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्