रुपन्देहीमा बयान सकाएर रवि लामिछानेलाई पोखरा लगियो

शुक्रबार, कात्तिक ३०, २०८१

पोखरा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा ल्याइएको छ । उनलाई आज दिउँसो १ बजेर ८ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र लगिएको थियो ।

दिउँसो १ः३० बजे यति एयरको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा पोखराबाट मंगलबार ल्याएर बिहीबारसम्म गरी २३ घण्टा लगाएर ७४ प्रश्नको सवाल जवाफ भएको थियो । 

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कार्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगी मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्