सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा विद्यालयको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्षसहितको टोलीले विद्यालयको अनुगमन गरेको हो । अनुगमन टोलीले राप्ती सोनारी गाउँपालिका वडा नं–८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीको अनुगमन गरेको हो ।
त्यसक्रममा गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकाले शैक्षिक सुधारका लागि आवश्यक बजेट बिनियोजन गरेको भन्दै विद्यालयमा कार्यरत शिक्षकहरुलाई गुणस्तर सुधारमा विशेष ध्यान लगाउन निर्देशन समेत दिए। ‘विद्यालयमा आवश्यक कुराहरुको पालिकाले व्यवस्थापन गर्न हरसम्भव प्रयासरत रहनेछ,' अध्यक्ष पौडेलले भने, ‘त्यसकारण कहीँ कतै कसैले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन हुन्न ।’
उनले विद्यार्थीहरुसँग साक्षात्कार समेत गरेका थिए । विद्यालयको पढाईबारे उनले विद्यार्थीहरुसँग साक्षात्कार गरेका हुन् । अनुगमनमा सहभागी राप्तीसोनारी गाउँपालिका ८ का वडा अध्यक्ष शालिकराम डाँगीले व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक र शिक्षकहरुको सक्रियता आवश्यक रहेकाले यसतर्फ पनि हरेक विद्यालयले सोच्नपर्ने कुरामा जोड दिएका थिए । ‘जबसम्म विद्यालयसँग सरोकार राख्ने सबै पक्षको सक्रियता हुँदैन,' वडाअध्यक्ष डाँगीले भने, ‘त्यतिबेलासम्म स्थानीय सरकारले अथवा जसले सहयोग गरे पनि शैक्षिक सुधार हुन सक्दैन जस्तो लाग्छ ।’ उनले पछिल्लो समय विद्यालयहरुको अवस्थामा सुधार देखिएको बताउँदै आवश्यक व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताए ।
टोलीले अन्य योजनाहरुको समेत अनुगमन गरेको थियो । टोलीमा गाउँपालिकाका इन्जिनियर दुर्गा केसी, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । यो वर्ष शैक्षिक सुधारका लागि भन्दै पालिकाले विभिन्न कार्यक्रमहरु तयार गरेर योजना बनाएको छ ।