सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाल आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन सफल भएको छ। एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा घरेलु टिम यूएईमाथि शानदार जितसहित नेपाल शीर्ष स्थान रहेर विश्वकपमा छनोट भएको हो ।
नेपाली यू-१९ टिम पहिलो पटक विश्वकपमा छानिएको हो ।
अन्तिम खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । साना प्रवीनले ४२ बलमा अविजित रहँदै ३५ रन बनाइन् ।
यसअघि दुबईस्थित द सेभेन स्टेडियममा नेपालले यूएईलाई ८३ रनमा रोकेको थियो । यूएईले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ८३ रन बनायो । समाइरा धरनीधरकाले सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई कम योगफलमा समेट्ने क्रममा क्रिश्मा गुरुङले १७ रन खर्चेर ४ तथा रिया शर्माले १२ रन खर्चेर २ विकेट लिइन् ।
यू–१९ महिला टी९२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदैछ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ औँ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रीय छनोटबाट नेपालसहित ५ देशले भाग लिँदै छन् ।
जसमा अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, बंगलादेश, इङ्गल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इण्डिज रहेका छन् ।
त्यस्तै क्षेत्रीय छनोटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।
यस विश्वकप खेल्ने १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् ।
यसअघि २०२३ मा भएको पहिलो यू–१९ महिला टी २० विश्वकप भारतले जितेको थियो । २०२३ को विश्वकप छनोट प्रतियोगितामा नेपाल तेस्रो हुँदै एसियाबाट छनोट हुन सकेको थिएन । एसियाबाट यूएई शीर्ष स्थानमा रहँदै छनोट भएको थियो ।