सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सर्वोच्च अदालतको पूर्णपाठ आएपछि आफैं अदालतम उपस्थित हुने दीपक मनाङे( राजीव गुरुङ) बताएका छन् । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङेले आज एक वक्तव्य जारी गर्दै मनाङेले सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको बताउँदै पूर्णपाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका हुन् ।
उनले भनेका छन्, ‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु । यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको पाएको छु ।
यसमा मेरो आपत्ति छ । अन्तमा सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’
मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
गत मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। तर उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।
पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।
उनको सांसद पद अहिलेसम्म यथावत् छ । उनी मोबाइल बन्द गरेर सम्पर्क बाहिर छन् ।