नेपालगञ्जमा छठ उल्लास (फोटोफिचर)

बिहीबार, कात्तिक २२, २०८१

नेपालगञ्ज । नेपालगञ्जको मुख्य छठघाट बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा ब्रतालुहरुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

झकिझकाउ पारिएको घाटमा ठूलो संख्यामा उपस्थित ब्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।

सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको उल्लास नेपालगञ्जमा पनि बढेको छ । हरेक वर्ष पूजा गर्नेको संख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको उल्लास बढ्दै गएको हो । छठ पर्वमा पूजा गर्नेहरु बढ्दा केही वर्षयता नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गर्दछ । तलाउ क्षेत्रमा टेण्ट सजावट, विजुली बत्तीको सजावट, बाजागाजा, साँस्कृतिक भजन मञ्चको व्यवस्थापन, घाटको सरसफाई गरिएको छ । भारतको कोलकाताबाट कलाकार बोलाएर सांस्कृतिक कार्यक्रम समेत गरिएको छ ।

पहिला पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको छ । चार दिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठ समापन हुने गर्दछ ।

भोलि विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवतरुपमा छठ सकिनेछ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कात्तिक २७ गतेको राशिफल
बिहीबार, कात्तिक २२, २०८१

हेर्नुहोस् आजको राशिफल
बिहीबार, कात्तिक २२, २०८१