डुडुवा गाउँपालिकाले राप्तीमा शवदाह गृह निमार्ण गर्दै

मंगलबार, कात्तिक २०, २०८१

डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकास्थित  राप्ती नदीमा शवदाहघाट निमार्ण भइरहेको छ । डुडुवा गाउँपालिकाले वार्ड नंं- ५ स्थित राप्ती नदीको पुल नजिकै शवदाह घाट निमार्ण हुन लागेको हो । 

जिल्लाका विभिन्न स्थानबाट शव जलाउन आउने मलामीहरुका लागि बस्ने हल, काठ दाउरा राख्ने स्टोर, खानेपानी धारा र शौचालय निमार्ण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार राप्ती नदी सिधानियाघाट व्यवस्थापनका लागि पालिकाले भौतिक पुर्वाधार निमार्ण सुरु गरेको छ । 

आगामी दिनमा यस घाटलाई थप व्यवस्थित बनाउनका लागि जग्गाको व्यवस्थापन, विद्युतीय शव दाह गृह निमार्ण, क्रियापुत्री घर, स्नान घर, सर्बसाधारणलाई नहाउनका लागि घाटलगायतका संरचना निमार्ण गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताए । 

गाउँपालिकाको  ४२ लाख रुपैयाँको सहयोगमा डुडुवा-५स्थित राप्तीघाट व्यवस्थापन उपभोक्ता समितिमार्फत निमार्णको कार्य भइरहेको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले जानकारी दिए। उनले नदीको छेउमा पानी भरिएका कारणले शवदाह गृह निमार्ण गर्न ढिलाई भएकोले अब केही दिनभित्र निमार्णको कार्य सम्पन्न हुने बताए । उनका अनुसार नदीको छेउमा कंक्रिट वाल लगाई माटो पटान गरि पक्की शव जलाउनका लागि शवदाह निमार्ण गरिने छ ।

शवदाह निमार्णका लागि स्थानीय उदयराज यादव, गंगाराम यादव, राजकिशोर यादव र तिलकराम यादवले १२ कठ्ठा ६ धुर जग्गा दान गरेको उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर बोहराले बताए । 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्