सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पोखरा । कास्की प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा लगेको छ। सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री लामिछानेलाई म्याद थप गर्न अहिले जिल्ला अदालत कास्कीमा लगिएको हो।
उनको हिरासतमा बस्ने म्याद गत १४ गते बुधबार नै सकिएको थियो । तिहारको सार्वजनिक बिदाका कारण उनको म्याद थप हुन सकेको छैन।
उनको थप ७ दिन म्याद थप हुन सक्ने सम्भावना छ । उनलाई अदालत लैजाने समय यकिन नभएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ ।
रविसँगै सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी र लिला पछाइलाई पनि आज अदालत उपस्थित गराइएको छ ।
कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । ४ गते ६ दिन र त्यसपछि कार्तिक ८ गते कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
आज जिल्ला अदालत कास्कीले म्याद थप नगरेपनि लामिछाने नछुट्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेसमेत कास्की प्रहरीलाई पत्र पठाएकाले उनलाई त्यसतर्फ पठाउने तयारीसमेत भइरहेको छ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले अनुमति दिएसँगै रुपन्देही जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।