नेपालगन्जमा भयानक मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, अर्का युवक गम्भीर घाइते

सोमबार, कात्तिक १९, २०८१

नेपालगन्ज । नेपालगन्जमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। भयानक तरिकाले भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र अगाडि आइतबार राति भे ६ प ८०२  र  ज ३ प ७१७१ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए।

मोटरसाइकल दुर्घटनामा नेपालगन्ज- ११ सरदरलाइनका २६ बर्षीय अमनकुमार कसौधनको मृत्यु भएको  र नेपालगन्ज-४ का १८ बर्षीय रोशन सेख गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

बाँके प्रहरीले दिएको जानकारी अनुसार गम्भीर घाइते भएका रोशनलाई गएराति नै थप उपचारका लागि भारतको लखनउ लगिएको छ। 

बसपार्कबाट गणेशपुरतर्फ जाँदै गरेको भे ६ प ८०२ नम्बरको मोटरसाइकल  अमनकुमार र  ज ३ प ७१७१ नम्बरको मोटरसाइकल गम्भीर घाइते भएका रोशनले चलाएका थिए।

जिल्ला प्रहरी बाँकेका अनुसार राति साढे ८ बजे दुर्घटना भएलगत्तै तत्काल अस्थाई प्रहरी पोष्ट नेपालगन्ज बसपार्कबाट इन्चार्ज प्रहरी सहायक निरीक्षक सुनिल शाह नेतृत्वको टोलीले उद्धार गरि  नेपालगन्ज मेडिकल कलेज पुर्याए पनि चिकित्सकले अमनकुमारलाई मृत घोषित गरेका थिए।

घटना बारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्