अठार कर्मचारीको दरबन्दीमा सात जनाले मात्रै सेवा दिदै

आइतबार, साउन १४, २०८०

नवलपुर। यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । 

कार्यालयमा आवश्यकतानुसार कर्मचारी अभाव हुँदा सहजरूपमा सेवा प्रदान गर्न समस्या हुने गरेको कार्यालय प्रमुख टेकबहादुर घर्तीमगरले जानकारी दिए। 

कार्यालयमा १८ जनाको दरबन्दीमा  सात जनामात्रै कर्मचारी रहेको उनले बताए । “ दरबन्दी अनुसार  कर्मचारी  छैनौँ, सेवाग्राहीको चाप हुँदा समयमा सेवा प्रदान गर्न समस्या हुने गर्दछ”, उनले भने । करारमा रहेका छ कर्मचारी हटेसँगै थप समस्या भएको उनले बताए । 

चालु आर्थिक वर्षदेखि  करारमा कर्मचारी नियुक्ति नगर्ने प्रदेश सरकारको नीति रहेको छ ।  कर्मचारी कम हुँदा कार्यालयबाहेकको समयमा समेत सेवाग्राहीको आवश्यकता हेरी सेवा दिनुपर्ने अवस्था रहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्