गैरआवसीय नेपाली अवैतनिक राजदूत हुन्: गृहमन्त्री

आइतबार, कात्तिक ११, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो पनि बनाएको बताएका हुन् । 

‘नेपालका लागि केही गर्न उदेश्य राख्नु भएको छ। जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएको छ’, उनले भने, ‘गैरआवासीय नेपाली अवैतनिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंले संसार फैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’

गैरआवासीय नेपालीको उदेश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए । 'त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । तपाईंको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ, 'उनले भने । 

यस्तै गैरआवासीय नेपालीको आर्थिक समाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानून संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए । 

‘तपाईंहरु पनि त्यसरी नै आउनुहोस् । कानून संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छौँ। तपाईं पनि गृहकार्य गरेर आउनुहोस्' उनले भने ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्