नेपालगन्जमा सशस्त्र प्रहरीले गर्‍यो सीमासँग जोडिएका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया

शनिबार, कात्तिक १०, २०८१

बाँके । सशस्त्र प्रहरी बल नेपालले सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । 

सशस्त्र प्रहरीको नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति एसएसपी कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यमा सम्पन्न  कार्यक्रममा सीमामा हुने अवैध चोरीपैठारी निकासी तथा राजश्व चुहावट नियन्त्रण, चाडपर्वको समयमा हुने चोरी, डकैती, हत्या, अपहरण, लुटपाट लगायतका क्रियाकलापहरुलाई नियन्त्रण र सीमामा आवागमन गर्ने नागरिककहरुको सुरक्षा र सहजताको विषयमा समेत छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बाँकेस्थित नं. ३० गण  र नं. ३१ गण बर्दियाका गणपति, सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्षहरु लगायत प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति र बिओपी प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा एसएसपी तिउसीनाले सीमामा हुने अवैध गतिविधिहरु नियन्त्रणको लागि सीमा सहजीकरण तथा निगरानी समिती गठन, सीमा नाकाहरुमा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको र भविष्यमा अन्य आधुनिक प्रविधिको बिस्तार गर्दै लगिने समेत  बताएका थिए ।

उनले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने कार्यमा सरोकारवाला निकाय, स्थानिय जनप्रतिनिधि तथा स्थानीय वासिन्दाहरुको समेत सहयोग, समन्वय र सहकार्यले महत्वपूर्ण भुमिका खेल्ने भएकोले स्थानिय सीमाबासी संगको यस प्रकारक कार्यक्रम उपलब्धिमुलक हुने बताए । 

कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरुले सीमामा सशस्त्र प्रहरीको उपस्थितिका कारण शान्ति सुरक्षाको प्रत्याभूती भएको, सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमले सिमाक्षेत्रका विभिन्न समस्या समाधानमा थप सहकार्य र समन्वयको बाताबरण बनेको भन्दै खुशी ब्यक्त गरेका थिए ।

सीमामा असुरक्षाको स्थिती नरहेको भन्दै उनीहरुले सशस्त्र प्रहरीसँगको सहकार्य र समन्वय निरन्तर रहने बताएका  छन् ।

सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ ल्याएपश्चात सीमामा २४सै घण्टा नियमित पैदल गस्ती, स्वास्थ्य शिविर संचालन, सीमानामा रहेका स्थानीयवासी लक्षित क्षमता अभिवृद्धि तालिम, सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, सीमाक्षेत्रमा सरसफाई लगायत लैंगिक हिंसा, बाल बिबाह, लागुऔषध सम्बन्धमा सचेतनामूलक कार्यक्रमहरु समेत संचलान गर्दै आएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी योजना अन्तर्गत अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा बसोबास गर्ने आदिवासी जनजाति, दलित समूदाय, अल्पसंख्यक, अतिविपन्न, पिछडिएका वर्ग र सीमान्तकृत समुदायका तथा जेहेन्दार छात्रछात्राहरुलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था समेत गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्