सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले खेल शिक्षकहरुका लागि सञ्चालन गरेको पाँच दिने प्रशिक्षण तालिम आज सम्पन्न भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ को मुख्य नाराका साथ गाउँपालिकाका विद्यालयहरुमा कार्यरत खेल शिक्षकहरुलाई भलिबल, एथलेटिक्स, कवड्डी लगायतका खेलहरुका बारेमा गत सोमबारदेखि पाँच दिने प्रशिक्षण तालिम सञ्चालन गरिएको थियो ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रशिक्षणको उद्घाटन गरेका थिए । राप्तीसोनारी खेलकुद विकास समिति, राप्तीसोनारी गाउँपालिकाको आयोजनामा सञ्चालित तालिमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन पालिकाले आवश्यक कार्यक्रमहरु तयार गर्ने बताए । शिक्षकहरुले सिकेको र पहिलादेखि भएको खेल प्रशिक्षण क्षमताले विद्यार्थीहरुलाई थप प्रोत्साहित गर्ने अध्यक्ष पौडेलले उल्लेख गरे । उनले शिक्षकले चाहेको अवस्थामा विद्यार्थीलाई प्रेरित गर्नुका साथै सकारात्मक दिशातर्फ मोड्न सक्ने भएकाले गुरुको स्थान सदैब उच्च रहेको धारणा राखेका थिए।
सो क्रममा वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगीले शिक्षण कार्यका लागि यो दक्षता समेत जरुरी रहेकाले यस्ता दक्षताको बृद्धि तथा कार्यान्वयनमा स्वयं शिक्षकहरु पनि सक्रिय भइरहनुपर्ने बताए । उनले स्थानीय सरकार पालिकाको शिक्षा क्षेत्रका लागि उपलब्धिमूलक ढंगले लागेको समेत बताए ।
राप्तीसोनारी गाउँपालिका खेलकुदको उर्वरभूमिका रुपमा रहेका र शिक्षकहरुले खेलकुदको आधारभूत कुराहरु सिकेको अवस्थामा विद्यार्थीहरुमा खेलकुदको क्षमता बढाउन प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदीले बताए ।
प्रशिक्षण तालिममा पालिकाका सबै तहका विद्यालयहरुका खेल शिक्षकहरुको सहभागिता रहेको थियो । प्रशिक्षणमा २ वटा निजी विद्यालयका शिक्षकहरु गरी २८ जना सहभागी रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए । सहभागीहरुलाई एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र बहादुर गुरुङ्ग, भलिबलतर्फ प्रकाश शर्मा, कवड्डीतर्फ जनार्दन खत्री र तेक्वान्दोतर्फ जंगदिप चौधरीले प्रशिक्षण दिएका थिए । यस वर्ष गाउँपालिकाले वडा नम्बर ८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । रनिङ्ग शिल्ड त्यही विद्यालयमा हुने भएकाले फिल्ड अध्ययन तथा खेलका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुग्ने अपेक्षाका साथ प्रशिक्षण तालिम गरिएको हो ।