सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पोखरा । सहकारी प्रकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ।
आज बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले सहकारी ठगी प्रकरणसँगै संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए ।
डा वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको पुष्टि भएको बताए ।
उनले भने, ‘सरकारले मानमर्दन गर्ने, अपमान गर्ने शैलीमा सरकार प्रस्तुत भएको छ, यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ । राजनीतिक प्रतिशोधले नै पक्राउ गरेको हिजो साँझसम्मको घटनाक्रमले पुष्टि भएको छ ।’
साथै वाग्लेले न्यायालयको गरिमा र आँच पुग्ने कुरामा आफूहरुले कुनै काम नगरेको बताउँदै आफूहरुको प्रश्न राजनीतिक भएको र कार्यपालिकाप्रति भएको बताए ।
अनुसन्धान गर्न जसलाई पनि पाइन्छ भन्ने रास्वपाले अहिले आफू सरकार बाहिर भएपछि आफ्नै पार्टीका सभापति पक्राउ पर्दा भने प्रतिशोध भनेको छ । लामिछाने पूर्व गृहमन्त्री हुन्। उनकै पालामा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेर तत्काल छाडेका थिए ।
कतिपय अपराधमा संलग्न भएका भनिएकालाई कारबाही प्रक्रिया अगाडि बढाउन नदिने काम पनि गरेका थिए । तर अहिले आफू पक्राउ पर्दा भने प्रतिशोध भनिरहेका छन् ।
यसैबीच लामिछानेलाई पोखरामा अनुसन्धानका लागि थप म्याद लिएर बयानका लागि रुपन्देही पठाउने तयारी प्रहरीले गरेको छ । यसअघि गोर्खा मिडियाका पूर्व संचालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई पनि रुपन्देही लगेर बयान लिएर पोखरा ल्याइएको छ ।