महिला साफ: नेपालले श्रीलंका विरुद्ध खेल्दै, सेमिफाइनल पुग्ने टोलीको आजै टुंगो लाग्दै

बिहीबार, कात्तिक ८, २०८१

काठमाडौँ । सातौँ संस्करणको साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज समूह चरणका खेलहरु सकिँदैछन् । आजको दुई खेलबाटै सेमिफाइनलमा पुग्ने दुई टिमको टुंगो लाग्नेछ । आजै सेमिफाइनल समीकरणसमेत बन्दैछ । 

समूह ए बाट बंगलादेश समूह विजेता तथा भारत समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेका अवस्थामा आज समूह बीका दुई खेलबाट सेमिफाइनलमा पुग्ने टिमको टुंगो लाग्नेछ । 

आज पहिलो खेलमा माल्दिभ्स र भुटान भिड्दै छन् । यो खेल दिउँसो साढे १ बजेदेखि शुरु हुनेछ। दोस्रो खेलमा नेपाल र श्रीलंका खेल्नेछन्। दोस्रो खेल साँझ साढे ५ बजेदेखि शुरु हुनेछ । 

समूह बी मा हाल नेपाल २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । 

अहिलेसम्म तीनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ । त्यस्तै माल्दिभ्स भने २ खेलमा दुवै खेल हारेर सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिएको छ ।

यसरी समीकरण हेर्दा पहिलो खेलमा भुटान विजयी भयो वा बराबरी गर्यो भने पनि सेमिफाइनलमा पुग्नेछ । यो भुटानका लागि सबैभन्दा ठूलो फड्को हुनेछ । भुटानले नेपालसँग पहिलो पटक बराबरी गरेर चमत्कार गरिसकेको छ । कमजोर माल्दिभ्समाथि पनि भुटान हावी हुने आँकलन गरिएको छ । किनकि भुटानले श्रीलंकालाई हराइसकेको छ । 

यता श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सलाई हराएको भए पनि भुटानसँग पराजित हुँदा भने मनोबल खस्केको छ । त्यस्तै भुटानसँग गोलरहित बराबरी खेलेर हिनतावोध गरेको नेपाली टिमले माल्दिभ्समाथि गोलको वर्षा गर्दै आफूलाई अब्बल सावित गरेको छ । 

माल्दिभ्समाथि ११–० को कीर्तिमानी जितसहित नेपाल फर्ममा उत्रिएको छ । दशरथ रंगशालामा पहिलो पटक नेपाली महिला टिमले यति ठूलो अन्तरको जित हासिल गरेको हो । 

आजको खेलमा गोल मेसिन सावित्रा भण्डारी 'साम्बा' पनि खेल्ने सम्भावना रहेको छ । उनी फ्रेन्च क्लबबाट आवद्ध रहेकामा साफकै लागि भनेर नेपालमा आएकी हुन् । आएकै दिन उनले माल्दिभ्सविरुद्ध नखेले पनि आजको खेलमा भने खेल्ने पक्का जस्तै छ । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्