सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण गरेका छन् ।
धार्मिक कार्यबाट नागरिकले मुट्ठी दान गरेर निर्माण गरी सरकारलाई हस्तान्तरण गरिएको लुम्बिनी प्रदेशको एक मात्र क्यान्सर अस्पतालको आज मुख्यमन्त्री आचार्यले निरीक्षण गरेका हुन् ।
अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले बिरामीहरुसँग अस्पतालले दिएको सेवाबारे जिज्ञासा राखेका थिए । सो अवसरमा अस्पताल प्रशासनलाई उनले संघीय सरकार मातहतको अस्पताल भए पनि प्रदेशले नियमले दिने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । प्रदेशले गर्न सक्ने योजनाहरु लिएर प्रदेश राजधानी आउन आग्रह गर्दै उनले दरबन्दी र कितावखानामा दर्ता गर्ने विषयमा आफूले संघीय सरकारमा पहल गर्ने बताए । बिना दरबन्दी अस्पताल संचालन भएकोप्रति आश्चर्य प्रकट गर्दै आफ्नो तर्फबाट गर्न मिल्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यसअघि अस्पतालका कार्यकारी निर्देशक डा। प्रकाशप्रसाद साहले बिगत ९ वर्षदेखि दरबन्दीबिना काज र दैनिक ज्यालादारी कर्मचारी र चिकित्सकहरुबाट अस्पताल सञ्चालन भइरहेको, अस्पतालको जनशक्तिलाई निजामती कितावखानामा दर्ता नगरिँदा स्वास्थ्यकर्मीहरु टिकाउन असहज बनेको, चिकित्सक तथा नर्सहरुको आवास नहुँदा सेवा प्रभावित बनेको जस्ता समस्याहरु प्रस्तुत गरेका थिए ।