टी-२० मा अमेरिकामाथि नेपालको क्लिन स्विप

सोमबार, कात्तिक ५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपालले तेस्रो तथा अन्तिम खेलमा सोमबार ८ विकेटको जित हासिल गर्दै अमेरिकालाई तीन खेलको श्रृंखलामा ३–० ले हराएको हो । नेपालले पहिलो पटक अमेरिकासँग टी–२० श्रृंखला खेलेको हो । यसअघि एउटा मात्र खेल भएको थियो । उक्त खेल पनि नेपालले नै जितेको थियो । 

डालासमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै अमेरिकाले ५ विकेटको क्षतिमा एक सय ५६ रन बनायो । अमेरिकाका लागि साइतेजा मुखमल्लले सर्वाधिक ६८ रन जोडे । मिलिन्द कुमारले ३५ बलमा अविजित रहँदै ४३ रन बनाए।

नेपालका लागि सोमपाल कामीले २७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिए । 

जवाफमा नेपालले १८.४ ओभरमा २ विकेटको क्षतिमा सहजै जित हासिल गर्यो । नेपालका लागि आसिफ शेखले ३९ बलमा ५०, कुशल मल्लले ३० बलमा अविजित रहँदै ४४ तथा कुशल भुर्तेलले ३२ बलमा अविजित रहँदै ४० रन बनाए । आसिफ शेख ११ बलमा १३ रन बनाएर आउट भए । 

दोस्रो खेल

आइतबार भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले टी–२० क्रिकेट श्रृंखला कब्जामा लिएको छ । 

लगातार दोस्रो जित हासिल गर्ने क्रममा अमेरिकालाई आइतबार भएको दोस्रो खेलमा सुपर ओभरमा हराएर तीन खेलको श्रृंखलामा २–० को पकड बनाउँदै एक खेल अगावै श्रृंखला जितेको हो । 

नेपालले पहिलो पटक अमेरिकाविरुद्ध टी–२० खेलेको हो । सोही खेलमै नेपाललाई सफलता मिलेको हो । 

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २ विकेटको क्षतिमा २ रन बनायो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ बलमा २ रन दिएर २ विकेट लिएका हुन् । 

शुरुआतका दुई बलमा एक एक रन दिएका सोमपालले तेस्रो र चौथो बलमा विकेट लिएका थिए । जवाफमा नेपालले ३ रनको लक्ष्य ४ बलमा पूरा गरेको थियो । नेपालका लागि रोहित पौडेलले २ तथा कुशल भुर्तेलले १ रन बनाए । 

यसअघिको २० ओभरको खेलमा बराबरी भएको थियो । एक सय ७१ रनको चुनौती पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ७० रन बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएका अवस्थामा अमेरिकाले ६ रन जोड्यो भने २ विकेट गुमायो । अन्तिम ओभरमा सोमपाल कामीले १ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए । 

अमेरिकाका लागि एन्द्रेस ग्रोसले ४३ बलमा ६२ तथा साइतेजा मुक्कामल्लले ४१ बलमा ४७ रन जोडे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए । 

यसअघि अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै ९२ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरु जम्न सकेनन् । 

पहिलो खेल

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । 

नेपालले ९ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । जवाफमा अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्