रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश

आइतबार, कात्तिक ४, २०८१
Neuro hospital Nepalgunj

पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले थप ६ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने भएको छ।

कास्की जिल्ला अदालतमामा आइतबार दिउँसो उपस्थित गराइएकामा थुनछेक बहसपछि अनुसन्धानका लागि अदालतले थप अनुसन्धानका लागि छ दिन म्याद थप गर्ने आदेश गरेको हो । 

लामिछानेको म्याद थपका लागि न्यायाधीश नवराज दाहालको इजलासमा थुनछेक बहस भएको थियो ।

यसअघि पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीसँगै जोडेर रवि लामिछानेलाई अगाडि बढाउने प्रहरीको योजना छ । जोशीको बयान सकिएको छ । उनी असोज ६ गतेदेखि नै जेलमा छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौँबाट लामिछानेलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याएको थियो । 

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ। त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । 

जोशी र लामिछाने गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम लगेर दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्