नेपालले दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हरायो

आइतबार, कात्तिक ४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । अमेरिका र  नेपालबीचको टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित  गरेको हो । 

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २ विकेटको क्षतिमा २ रन बनायो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ बलमा २ रन दिएर २ विकेट लिएका हुन् ।

शुरुआतका दुई बलमा एक एक रन दिएका सोमपालले तेस्रो र चौथो बलमा विकेट लिएका थिए ।

जवाफमा नेपालले ३ रनको लक्ष्य ४ बलमा पूरा गरेको थियो । नेपालका लागि रोहित पौडेलले २ तथा कुशल भुर्तेलले १ रन बनाए । 

यसअघिको २० ओभरको खेलमा बराबरी

एक सय ७१ रनको चुनौती पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ७० रन बनाउन सक्यो । 

अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएका अवस्थामा अमेरिकाले ६ रन जोड्यो भने २ विकेट गुमायो । 

अन्तिम ओभरमा सोमपाल कामीले १ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए । 

अमेरिकाका लागि एन्द्रेस ग्रोसले ४३ बलमा ६२ तथा साइतेजा मुक्कामल्लले ४१ बलमा ४७ रन जोडे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए । 

यसअघि अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै ९२ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरु जम्न सकेनन् । 

तीन खेलको टी–२० श्रृंखलाको शुक्रबार भएको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । नेपालले ९ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । 

जवाफमा अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो ।

दोस्रो जितसँगै नेपालले तीन खेलको श्रृंखलामा २–० ले कब्जा जमाएको छ । तेस्रो खेल सोमबार बिहान हुनेछ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्