नेपाल र अमेरिकाबीचको टी २० क्रिकेटमा नेपालको विजयी सुरुवात

शुक्रबार, कात्तिक २, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । अमेरिकाविरुद्धको टी–२० क्रिकेट श्रृंखलामा नेपालले विजयी शुरुआत गरेको छ । अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको पहिलो खेलमा नेपाल १७ रनले जित हासिल गर्दै तीन खेलको श्रृंखलामा विजयी शुरुआत गरेको हो । 

१६५ रनको चुनौती पछ्याएको अमेरिकाले १४७ रनमात्र बनाउन सक्यो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनायो । कप्तान रोहित पौडेलले खेलेको कप्तानी इनिङ्ससँगै नेपालले सम्मानजनक स्कोर खडा गरेको हो । 

रोहितले रन आउट हुनुपूर्व ३३ बलमा ४९ रन बनाए । अन्य खेलाडीहरुमा दिपेन्द्र सिंह ऐरीले १७ बलमा २८ रन जोडे । त्यस्तै ओपनरद्धय आसिफ शेख र अनिल साहले समान २७ रन बनाए ।  

अमेरिकाका लागि सौरभ नेत्रभल्कार, जसदीप सिंह र हर्मित सिंहले २–२ विकेट लिए । 

नेपाल र अमेरिकाबीच यसअघि सन् २०१५ मा एक मात्र टी–२० खेल भएको थियो । टी–२० विश्वकप छनोट अन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी–२० खेल भएको भएको यो पहिलो पटक हो।

श्रृंखलामा १–० ले अग्रता लिएको नेपालले दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने तालिका छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्