दुर्गा प्रसाईंका समर्थकले जलाएको ट्रकका भारतीय चालकको मृत्यु

सोमबार, असोज २१, २०८१
Neuro hospital Nepalgunj

झापा । असोज ७ गते दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा उनका समर्थकद्वारा ट्रकमा आगजनी गर्दा जलेर गम्भीर घाइते भएका भारतीय ट्रक चालकको मृत्यु भएको छ । 

बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई असोज ७ गते डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।

बीएण्डसी अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतका नागरिक प्रतिरक्षा बल (पीडीएफ) ले झापाको यातायात बन्दको क्रममा भारतीय ट्रकमा आगजनी गरेका थिए ।

आगलागीबाट ट्र्कको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्र्कका चालक भारत इस्लामपुर बस्ने वर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रसाई नेतृत्वको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भिम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

चालकको उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भइरहेको अवस्थामा शनिबार मृत्यु भएको हो ।

चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सीमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए । घटनापछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर शव नेपाल ल्याइएको छ ।  चालकको शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । 

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्