नेपालगञ्जमा खान अयोग्य १७३ किलो मासु नष्ट,२५ हजार जरिवाना

आइतबार, असोज २०, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज नेपालगञ्जमा खान अयोग्य १७३ केजी मासु नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले चाडपर्व लक्षित बजार अनुगमनका क्रममा दुई वटा मासु पसललाई २५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ । चाडपर्वको मौका छोपेर अखाद्य मासु विक्रि गर्ने क्रम बढेको जनगुनासोपछि अनुगमनलाई तीब्र पारिएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख हरि बहादुर खत्रीले नेपालगञ्ज विमानस्थलबाट कार्गोमा हुम्ला सिमकोट पठाउन लागिएको २२ केजी विषाक्त मासु समेत बरामद गरिएको जानकारी दिए । यसबारे अनुसन्धान भइरहेको खत्रीले बताए । 

१९ वटा मासु पसल अनुगमन गर्दा ५८ केजी खसीको मासु, १०५ केजी कुखुराको मासु र १० केजी माछा गरी कुल १७३ केजी अखाद्य मासु नष्ट गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित मो। सरिफ फ्रेस हाउसलाई २० हजार र वडा नम्बर २० स्थित दानिस फ्रेस हाउसलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको खत्रीले बताए । 

प्राप्त सूचनाका आधारमा अनुगमन गर्दा मासु व्यापारीको अपराधिक मनोबृत्ति उजागर भएको खत्रीको भनाई छ । 'अनुगमन गरिएका मध्ये धेरै पसलमा समस्या थिएन, केही पसलमा देखिएको सामान्य कैफियतलाई केलाएर सचेत बनाएका छौं,' खत्रीले भने-'गम्भीर गल्ती गर्नेलाई ठाउँको ठाउँ कारबाही नै गरेका छौं ।'

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्