नेपालगन्जका सडकबाट छाडा पशु कान्जीहाउस लैँजाँदै उपमहानगर

आइतबार, असोज २०, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज । सडकमा छाडा छोडिएका पशुचौपायाको बिगबिगीले दुर्घटनाको जोखिम बढाएपछि नेपालगञ्ज उपमहानगरपालिकाले प्रत्येक शनिबार सडकमा छाडा छोडिएका पशुचौपायालाई कान्जीहाउस पुर्याउने गरेको छ ।

शनिवारको दिन नगरका विभिन्न सडकमा छरिएर रहेका पशुचौपायालाई एकत्रित गरेर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तास्थित कान्जीहाउस पुर्याउने गरिएको हो ।

नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको संयुक्त टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याउने गरेको छ । यो शनिवार पनि ५८ वटा पशुचौपायालाई कान्जीहाउस लगिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिए । बोगटीका अनुसार गाई तथा बाच्छा बाच्छी ३४, १५ वटा घोडा र ९ वटा बाख्रालाई कान्जीहाउस पुर्याइएको छ ।

घरधनीले आफ्नो पशुहरु सडकमै छोडिदिने र खुला सीमा नाकाका कारण पनि नेपालगञ्जका सडकमा छाडा पशुचौपायाको संख्या उल्लेख्य हुने गरेको छ । छाडा पशुका कारण साना ठूला दुर्घटना भइरहेका हुन्छन् । कतिले ज्यानै गुमाउनुपरेको अवस्था छ भने कति घाइते हुने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आ-आफ्ना पशुचौपाया घरमै बाँध्न आग्रह गर्दै आएका छन् । तर, छाडा छोड्ने प्रबृत्ति रोकिएको छैन । नगर प्रमुख विष्टले नगरबासी सबैले यसमा गम्भीरता देखाउनुपर्ने बताए । 'छाडा पशुरहित सडक बनाउन सबैको सहयोग आवश्यक छ,'उनले भने । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्