नेपालगञ्जमा ऐतिहासिक रामलिला मञ्चन

शुक्रबार, असोज १८, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज नेपालगञ्जमा ऐतिहासिक रामलिला मञ्चन सुरु भएको छ । बडा दशैंको अवसरमा सयौं बर्षदेखि चल्दै आएको रामलिला मञ्चनले यस बर्ष पनि निरन्तरता पाएको हो ।

संस्कृतिको रुपमा स्थापित भएको रामलिला मञ्चन घटस्थापनामा सुरु भई टीकाको भोलिपल्टसम्म चल्दछ । रामलिला मञ्चन नेपालगञ्जमा १ सय ५७ वर्षदेखि निरन्तर चलिरहेको छ । यस बर्ष बिहिबार दिउँसो शोभा यात्रासहित यसको विधिवत शुभारम्भ गरिएको थियो ।

नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले एक सय ५७औँ संस्करणको उद्घाटन गरे । त्यस अवसरमा बोल्दै नगर प्रमुख विष्टले रामलीला मञ्चन नेपालगञ्ज सहरको सांस्कृतिक पहिचान भएको बताए ।

रामलिला मञ्चनकै लागि सहरको बीचमा रामलिला मैदान संरक्षित छ । त्यही रामलिला मैदानमा भारतको बृन्दावनबाट कलाकार ल्याएर रामलिला मञ्चन हुन्छ । खाना खाएर रातिमा रामलिला हेर्न जाने यहाँको संस्कृति बनेको छ । रामलिला सञ्चालक समितिले रामलिलाका लागि भारतबाट राधा रमण नेतृत्वको २५ जना कलाकार टोली ल्याइएको जानकारी दिएको छ ।

रामलिलाले गर्दा रामलिला मैदान झिलिमिली पारिएको छ । यहाँ बजार नै लाग्ने गरेको छ । विगतमा भगवानको पाठसँगै मनोरञ्जनका लागि सुरुवात गरिएको रामलिला यहाँको संस्कृति बनेको हो । रामलिला मञ्चनमा राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रुपमा प्रस्तुत गर्ने गरिन्छ ।

हरेक दिन साँझ ७ बजेदेखि राती १२ बजेसम्म रामलिला मञ्चन हुने रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्