सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । चाडपर्वको मौसम सुरु हुन थालेको छ । बजारमा भिडभाड हुन थालेको छ । तर, अस्पतालमा भने त्यति भिडभाड छैन । दिनहुँ झै आज पनि अस्पतालको कोठा नम्बर १० मा बिरामी चेकजाँच गर्न सुरु गरियो । लगभग १२ बजे नै बिरामी हेरेर सकियो। ओपिडीमा बिरामी हेरेर सकिएपछि वार्डमा भर्ना भएका बिरामी हेर्न जाने तरखरमा थिएँ । एक जना बुढी आमा लौरो टेक्दै भित्र छिर्नुभयो । लामो सुस्केरा हाल्दै मेरो टेबलतिर पर्चा अघि बढनुभयो ।
आमाः नमस्कार डाक्टर साहेव । मलाई सञ्चो गरिदिनु पर्यो । साह्रै गाह्रो भइरहेको छ ।
मः नमस्कार आमा । के समस्या पर्यो ? डोल्पाबाट आउनुभएको छ । हेर्दा ७० वर्ष झै लाग्छ । पर्चामा ५९ वर्ष मात्रै लेख्या छ ।
आमाः के गर्नु डाक्टर साहेव । दुःखीलाई दुःखले नछाड्ने रहेछ । यो खुट्टा पनि भाँचियो । अर्को डाक्टर साहेवले ब्यान्डेज गरिदिनुभयो । फेरि यो घाँटीको हड्डी चाहिँ हड्डीको डाक्टरले नहर्ने रे । त्यही भएर १० नम्बर (इएन्टी) कोठामा पठाउनुभयो ।
मःकति समय भयो आमा घाँटीमा समस्या भएको ?
आमाः तीन बर्ष अघि दशैंमा च्याङ्ग्राको मासु खाने बेला घाँटीमा हड्डी बिझेको हो । अहिलेसम्म दुःख दिइरहेको छ।
मः अनि यति ढिलो किन आउनुभएको त ? त्यतिबेलै अस्पताल जानुपर्ने हो त आमा ।
आमाः अस्पताल किन नजानु डाक्टर साहेव । काठमाडौं पनि गए । इन्डिया पनि गएको हो । तर, सञ्चो भएन । तल्लो घर माइलाको पनि यस्तै समस्या भएको रहेछ । उसैले भेरी अस्पतालमा जान भन्यो । अनि त्यही भएर भेरी अस्पतालमा आएको ।
मः अनि काठमाडौं र इन्डियाका अस्पतालमा डाक्टरले हड्डी निकाल्नु भएन त ?
आमाः नाई । औषधि दिनुभयो । पीडा बीसको उन्नाइस पनि भएन । हड्डी छँदै छैन भन्छन् । एक्सरे र पाइप लगाएर हेरिसके । गुराँस खाँदा हड्डी विझेको ठिक हुन्छ भनेर गुराँस पनि खाएँ । तर, ठिक भएन । अहिले पनि विझाइरहन्छ ।
नाक, मुख र घाँटीको चेकजाँच गरियो । ठूलो समस्या देखिएन ।
मः हजुरलाई कति बेला बढी बिझाउँछ ?
आमाः जुनसुकै बेला पनि विझाउँछ । खाना खाएपछि बढी हुन्छ । राती सुत्दा त झन बढी दुख्छ । कहिले त श्वास फेर्न पनि गाह्रो हुन्छ ।
मः आमा भारी काम गर्दा, खेतवारी गर्दा दुख्छ कि नाई?
आमाः छोराहरु कमाउन भारततिर गएका छन् । अलि अलि सानो खेत छ । त्यही सानो खेतीपातीको काम गर्दा हातखुट्टा दुख्छ । त्यतिबेला घाँटी दुःखेको चाल पाउन्न ।
मः खानपान कस्तो छ आमा रु रक्सी, चुरोट त खानु हुन्न नि ?
आमाः रक्सी त कहाँ खानु । हुक्का चाहिँ तान्छु बेलाबेला। के गर्नु पीर चिन्ता लाग्छ । हुक्का तानेपछि पीर चिन्ता हटेझै लाग्छ ।
मः हुक्का त तान्नु भएन नि आमा । यसले त झन घाँटीको क्यान्सर बनाउँछ ।
आमाः तीन वर्ष भइसक्यो डाक्टर साहेव । मेरो त घाँटीमा घाउ नै भइसक्यो होला ।
मः धेरै चिन्ता लिनु पर्दैन आमा ठिक भइहाल्छ क्या । केही औषधि लेखिदिन्छु । लिएर खानु होला ।
आमाः हुन्छ डाक्टर साहेव । अबदेखि म यो हुक्का तान्न छोड्छु । हजुरले लेखेका औषधि लिएर खान्छु ।‘
बिरामीलाई समय दिँदा धेरै कुराहरु बुझ्न पाइन्छ । तर, डाक्टरहरुले चाहेर पनि बिरामीलाई समय दिन पाएका हुँदैनन् । ओपिडीमा बिरामीको चाप अधिक नै हुन्छ । नेपाल सरकारले कम्तीमा पनि दरबन्दी अनुसारका चिकित्सक पठाउने हो भने आमालाई जसरी समय दिएर हेर्न पाइयो, त्यसैगरी सबै बिरामीलाई समय दिन सकियो भने रोगको पहिचान, निदान र उपचारमा सहज हुन्छ ।
घाँटीमा केही अड्केको जस्तो, विझाएको जस्तो हुने तर चेकजाँच गर्दा सबै सामान्य देखिने रोगलाई ग्लोबस फ्यारेन्जियस भनिन्छ । ४५ देखि ६० प्रतिशत मानिसलाई आफ्नो जीवनकालमा कुनै बेला यो रोगको महसुस गर्ने अनुमान गरिएको छ । यो के कारणले हुन्छ भन्ने एकिन छैन । तर, विश्वव्यापी अध्ययनले केही तथ्यहरु उजागर गरिदिएको छ ।
GERD घाँटीमा पेटको अमिलो पानी फर्किंदा, भित्री छालामा inflammation हुने र लामो समय यो रोगको उपचार नगर्दा ग्लोबस हुने गर्दछ । ग्लोबस को ६० प्रतिशत बिरामीको मुल कारण GERD हो।
पिनासः १० देखि १५ प्रतिशत ग्लोबसको बिरामीमा पिनास पनि देखिएको छ । लामो समय पिनास हुँदा नाकको पछाडिबाट घाँटीमा सिँगान गइराख्ने र त्यसले गर्दा घाँटीमा अड्केको अनुभव गराउँदछ । माथिल्लो खाना नलीः माथिल्लो खाना नलीको मांसपेशीहरुको असामान्य प्रतिक्रिया जस्तै कडा भइदिनु वा चालमा परिवर्तन आउनु लगायतका कारणले पनि ग्लोबस हुने गर्छ ।
अन्य कारण
choronic pharyangitis/ chronic laryngits
-घाँटीको हड्डी बढ्ने समस्या ।
-जिव्रो पछाडिको टन्सिल ग्रन्थी बढ्नाले ।
-टन्सिलमा धेरै स्टोन बनेर ।
-थाइराइडसँग सम्बन्धित समस्याले गर्दा ।
-मुखको सुख्खापन ।
-मानसिक तनाव (एक अनुसन्धान अनुसार जिइआरडी पछिको प्रमुख कारण मानसिक तनावलाई मानिएको छ )
-घाँटीको क्यान्सरको पहिलो संकेत पनि हुन सक्छ ।
ग्लोबस फ्यारेन्जियस भए के गर्ने ?
- नाक, कान, घाँटी रोग विशेषज्ञसँग भेट्ने र सम्पूर्ण समस्याहरु र डर लागेको कुरा निर्धक्क भन्ने र छलफल गर्ने ।
-चाहिने चेकजाँच गरी कुनै रोग जस्तैः थाइराइड भए नभएको थाहा पाउने
जीवनशैलीमा परिवर्तन ल्याउने ।
-दुधको चिया, कफी, चिसो, रक्सी, चुरोट नखाने ।
-सागसब्जी फलफूल बढी खाने ।
-कसरत गर्ने ।
-पानी बढी पिउने ।
-धेरै नबोल्ने ।
-चिकित्सकसँग नियमितरुपले भेट्ने ।
-तनावमुक्त वातावरण सिर्जना गर्ने ।
ईएनटी सर्जन डा. शाही भेरी अस्पतालमा कार्यरत छन् ।