दाङको शान्तिनगर गाउँपालिकाको प्रशासनिक भवन चिराघाटमै सार्न सर्बोच्चले दियो अन्तरिम आदेश

बुधबार, असोज १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । दाङ जिल्लाको उत्तर पश्चिममा पर्ने शान्तिनगर गाउँपालिकालाई प्रशासनिक केन्द्र पुरानै स्थान चिराघाटबाट सञ्चालन गर्न सर्वौच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

असोज ६ गते सर्बोच्च अदालतका न्यायाधीश सपना प्रधानको एकल इजलासले जुम्लेकुलामा सारिएको केन्द्र पुनः चिराघाटमै सारेर कार्य सञ्चालन गर्न आदेश दिएको हो ।

गाउँपालिकाको कार्यालय वडा नं. ४ को चिराघाटबाट भादौ २ गते सोही वडाको जुम्लेकुला सारिएको थियो । गाउँ सभाले कार्यापालिकाको प्रशासनिक केन्द्र जुम्लेकुला सार्ने निर्णय गरेको हुँदा सोही अनुरुप सारिएको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बताए ।

तर, सर्बोच्च अदालतले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ (५) मा गाउँपालिका वा नगरपालिकाको केन्द्र परिवर्तन गर्दा सम्बन्धित सभाले परित गरि प्रदेश सभामार्फत नेपाल सरकारमा पेश गर्नुपर्ने र नेपाल सरकारले निणर्य गर्नुपर्ने भएपनि उक्त दफा बमोजिम कार्यविधि र समयावधिको पालना नगरेको देखिन आएको तथा गाउँपालिकाले जुम्लेकुुला केन्द्र सार्दा कानुन विपरितको काम गरेको देखिन आएकोले अन्तरिम आदेशमा उल्लेख छ ।

यसअघि उच्च अदालत तुलसीपुरले २०७५ असार २० गते गाउँपालिका चिराघाटबाट अन्यत्र नसार्न फैसला गरेको थियो । तर, तत्कालिन समय गाउँपालिकाले केन्द्र सारेपछि उक्त फैसलाको अवहेलना मुद्दा समेत विचाराधीन अवस्थामा थियो ।

गाउँपालिकाका अध्यक्ष बस्नेतले बिगतको कुरा अध्यन नै नगरी अन्तरिम आदेश जारी गरिनु न्यायोचित नभएको तर्क गरे । उनले प्रशासनिक काम जुम्लेकुलाबाटै सञ्चालन हुने तथा तत्कालै प्रशासनिक केन्द्र पहिलेको ठाउँ चिराघाटमा नसारिने बताए ।

प्रशासनिक केन्द्र पुरानै ठाँउ चिराघाटमा सार्न बारे सर्बोच्चको अन्तरिम आदेश जारी गरेको कुरा सुनेको भएपनि लिखित रुपमा अदालतको आदेश आइ नपुगेको र त्यसवारे अध्यन गरेपछि आँफुहरु पुनः अदालत जाने उनले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्