आन्तरिक उडानका लागि आबश्यक जहाज नै नभएको पर्यटनमन्त्रीको गुनासो

मंगलबार, असोज १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरूको कमी रहेको गुनासो गरेका छन् । मंगलबार मन्त्रालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उनले यस्तो बताएका छन्।

नेविसंघले अहिले चाडपर्वको समय रहेको र मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध रहेकाले हवाई उडानमार्फत चाडबाडका लागि गाउँ फर्किनेहरूको व्यवस्थापन गर्न र हवाई भाडा वृद्धि भएकोमा नियन्त्रण गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षणपछि बोल्दै मन्त्री पाण्डेले नेपालमा अहिले ५२ वटा विमानस्थलहरू रहेको र सबै सञ्चालन गर्न विमानहरूको अभाव रहेको बताए । उनले आन्तरिक ट्विनअटर विमानहरू ९-१० वटा मात्रै भएकाले सञ्चालन गर्न कठिनाइ भइरहेको बताए । 

उनले नेपाल एयरलाइन्सको जम्मा एउटा मात्रै ट्विनअटर रहेको भन्दै समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गरिरहेको बताए । उनले निजी क्षेत्रलाई थप विमान ल्यान प्रोत्साहन गर्ने गरी सरकार अघि बढिरहेको बताए । ७ वटा प्रदेशले सात वटा ट्विनअटर किनेर सञ्चलन गर्ने कुरा आफूले पूर्वपर्यटनमन्त्रीहरुसँग छलफल गरिसकेको पनि जानकारी गराए । उनले राहत तथा उद्धारका लागि पनि चाहिने जति हेलिकप्टरहरू नरहेको बताए । 

उनले भने, ‘फ्लाइटहरूको सन्दर्भमा पनि हामीले सत्य बुझिराख्नुपर्छ । नेपालमा अहिले ५२ वटा एयरपोर्टहरु छन् । ५२ वटा एयरपोर्टमा सबै एयरपोर्ट सञ्चालन होस् भन्ने सबैको चाहना छ । तर प्लेनहरू हामीसँग छैनन् । डोमेस्टिक ट्विनएटरहरु जम्मा ९-१० वटा मात्रै छन् । त्यसले भ्याउने अवस्था छैन । नेपाल एयरलाइन्सको त एउटा ट्विनअटर छ । मुख्य एयरक्राफ्टहरुकै कमी ठूलो समस्याको रूपमा छ । त्यसलाई समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्ने रु निजी क्षेत्रलाई पनि थप प्लेन ल्याउनुस् भन्न प्रोत्साहन गर्नुपर्ने स्थिति छ । निजी क्षेत्रलाई अप्ठ्यारो पारेर व्यवसाय नै नचल्ने अवस्था बनाए व्यवसाय छोड्ने अवस्था हुन्छ । ७ वटा प्रदेशले सात वटा ट्विनअटर किन्ने कुराको लिड गर्नुपर्ने प्रस्ताव मैले गरेको छ । तिनीहरूलाई सम्बन्धित ठाउँमा राखेर प्रदेशका पहाडी जिल्लामा चल्छन् । निजी क्षेत्रलाई गाली गरेर मात्रै हुँदैन, प्रोत्साहन पनि गर्नुपर्छ । लगानी गर, यो क्षेत्र सुरक्षित छ भनेर प्रोत्साहन गर भन्नुपर्ने छ । प्लेन नै छैन, जसरी पनि उडाइदिनुस् भनेपछि स्वाभाविक रूपमा बार्गेनिङ बढ्ने भयो । आवश्यक हेलिकप्टर नै छैनन् ।’

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्