छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

मंगलबार, असोज १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । कैलाली र झापामा तीन वटा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  

कैलालीको पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प९२५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुवै मोटरसाइकल चालकहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा जिल्लास्थित जानकी गाउँपालिका-८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको  हो।

प्रहरीले दिएको जानकारी अनुसार मृतक  चौधरी से६प ६२७९ नम्बरको चालक र मल्ल बा९५प ९२५२ नम्बरको मोटरसाईकलका चालक हुन् । मोटरसाइकल ठोक्किँएर दुर्घटनामा गम्भीर घाइते भएका दुवै चालकको गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु दुबै जनाको धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो।

त्यसैगरी  बा९५प ९२५२ नम्बरको मोटरसाइकलको पछाडि बसेका कञ्चनर शुक्लाफाँटा नगरपालिका- ७ बने २२ वर्षीया दिपक बोहोरा घाइते भएको प्रहरीले जनाएको छ । बोहराको धनगढीस्थित नवजीवन अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै झापामा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय युवकको मृत्यु भएको छ। जिल्लाको विर्तामोड नगरपालिका-१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा अनिश न्यौपानेको मृत्यु भएको झापा प्रहरीले जानकारी दिएको छ।

गए राति बिर्तामोडस्थित बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ५८९१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको गए राति नै बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षीय टिकाराम रायको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्