अन्तर तहका सरकारी कार्यालयसँग सहकार्य अघि बढाउँदै राप्तीसोनारी गाउँपालिका

सोमबार, असोज १४, २०८१
Neuro hospital Nepalgunj

बाँके/सोमबार, असोज १४, २०८१। बाँकेको राप्तीसोनारी गाउँपालिकाले अन्तर तहका कार्यालयहरुसँग समन्वय तथा सहकार्य बढाएको छ । जिल्लामा रहेका सरकारी कार्यालयहरु बीचमा समन्वयका माध्यमबाट सेवाग्राहीहरुलाई स्तरीय र सहज पहुँच कायम गर्ने बल पुगोस् भन्ने उद्देश्यले अन्तर तहका कार्यालयहरुसँग सहकार्य बढाइएको हो  । 

त्यहींअनुसार पालिकाले जिल्लाका सम्पूर्ण सेवा प्रदायक निकायहरुलाई राप्तीसोनारीमा बोलाएर अन्तरक्रिया गरिएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए । बाँकेका सुरक्षा निकायका प्रमुख, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि सम्मेलित उक्त कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै उनले तहगत सरकारबाट प्रदान गरिने सार्वजनिक सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गरी सार्वजनिक सेवालाई छिटोछरितो, सहज र गुणस्तरीय सेवा दिने र पाउने वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको ऐडीले बताए । 

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरीले सेवा प्रवाह गर्ने सरकारी कार्यालयबीचको समन्वयात्मक अन्तरक्रियाको प्रयास पालिकाले थालेकोमा खुसी व्यक्त गरे । उनले जिल्ला समन्वय समितिले गर्नुपर्ने काम पालिकाले गरेको भन्दै खुसी व्यक्त गरे ।

 ‘जिल्ला समन्वय समितिले पनि जिल्ला, प्रदेश र संघका मातहतमा रहेका सरकारी कार्यालयबीचको समन्वयात्मक बैठक राख्ने प्रयास गरेको हो, उनले भने–‘तर प्रभावकारी हुन सकेन्, राप्तीसोनारीले प्रयास गरेको छ अव यसलाई सबैले निरन्तरता दिनुपर्छ । ’ अहिलेको संबिधानले मुलुकमा तीन तहका सरकारको परिकल्पना गरेको छ । त्यहीअनुसार मुलुक चलिरहेको छ । ‘यी तीन तहका सरकारको अर्थ नै सबै तह बीच समन्वय र सहकार्यबाटै विकास सम्भव छ भन्नु हो उनले भने–‘समन्वय र सहकार्य भयो भने विकासमा डुब्लिकेशन हुँदैन । र, प्रभावकारी पनि देखिन्छ ।’ 

अहिले तीन तहको सरकारबीच समन्वयको अभाव देखिएको उनको भनाइ छ ।  स्थानीय तह, प्रदेश र संघीय सरकारका योजनाहरु एकआपसमा जुध्ने गरेका छन् । ‘योजनाहरुमा हुने दोहोरोपना रोक्नु पर्छ उनले भने–‘त्यसकालागि एक अर्काबीचमा समन्वय आवश्यक छ । निकास विनाको विकासले कसैको पनि हित हुन सक्दैन ।’ यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले सेवाप्रदायक कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा नागरिकहरुलाई जानकारी प्रवाह गर्नेका निमित्त पालिकाले अन्तर तहका कार्यालयसँगको अन्तरक्रिया राखेको जानकारी दिए । 

‘स्थानीय तह, प्रदेश सरकार र संघीय कार्यालयबाट प्रदान हुने सबै काममा समन्वय र सहकार्य आवश्यक छ उनले भने–‘त्यसका निमित्त गाउँपालिकाले वातावरण सिर्जना गरिदिएको हो । सरकारप्रति नागरिकको विश्वास, भरोसा टुट्न दिनु हुदैन् ।’ यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पनि संबिधानले तीन तहका सरकारबीच समन्वयको परिकल्पना गरेकोले त्यहीअनुसार काम गर्नुपर्ने बताए । उनले कुनै एक तहबाट मात्रै विकास सम्भव नभएकाले सबैको सहकार्य आवश्यक रहेको औल्याए । उनले भने–‘समन्वय र सहकार्यविना विकास सम्भव छैन । 

सुशासन पनि सम्भव छैन । त्यसका लागि तीनै तहका सरकारी कार्यालयको सामुहिक एक्यबद्धता आवश्यक छ ।’ उनले सेवा प्रवाहलाई सहजीकरण गर्न जिलला प्रशासन कार्यालयले भूमिका खेल्न तयार रहेको पनि उल्लेख गरे । ‘समन्वयको लागि जिल्ला प्रशासन कार्यालय सधैंव तयार छ उनले भने–‘कानुनले दिएका कामहरु सहजै रुपमा गर्न सकिन्छ । सरकारी कार्यालयका प्रमुखहरुलाई मेरो अनुरोध छ सके सपारौं नसके नविगारौं ।’ 

कार्यक्रममा राप्तीसोनारीका पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा वाणिज्य कार्यालयका प्रमुख  हरिबहादुर खत्री, बाँके प्रहरी प्रमुख  एसपी तुलबहादुर कार्की, बाँके सशस्त्र प्रहरी प्रमुख एसपी विमल डाँगी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही लगायत जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्