बाँकेको जानकीका मदरसा र गुरुकुललाई बसाइँ व्यवस्थापनका लागि सामग्री हस्तान्तरण

आइतबार, असोज १३, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा रहेका मदरसा र गुरुकुलहरुलाई बसाइँ व्यवस्थापनका लागि वल्र्ड भिजन इन्टरनेशनल नेपालले सामग्री सहयोग गरेको छ ।

जानकी गाउँपालिकाको समन्वय तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा एक कार्यक्रमका बीच १४ मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण गरिएको हो । वल्र्ड भिजन इन्टरनेशनल नेपालका फिल्ड संयोजक शुरज शर्माले जानकी गाउँपालिकाका अति जोखिममा परेका बालबालिकाहरुलाई शैक्षिक गुणस्तर वृद्धिका लागि बसाइँ व्यवस्थापन गर्न ती सामग्री सहयोग गरिएको बताए ।
  
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले शिक्षामा पछाडि परेका समुदायका लागि शिक्षाको गुणस्तर माथि उठोस् भन्ने उद्देश्यले वल्र्ड भिजन इन्टरनेशनल नेपालले सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिए । गुरुकुल र मदरसामा अध्ययन गर्ने बालबालिकाको बसाइँ व्यवस्थापनका लागि प्राप्त सामग्रीको बढी भन्दा बढी सदुपयोग गर्न शिक्षकहरुलाई अध्यक्ष खाले निर्देशन दिए । साथै गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय सरकार प्रतिबद्ध भएर लागिरहेको बताउँदै उनले वर्ल्ड भिजनको सहयोगले स्थानीय सरकारको लक्ष्य र उद्देश्य प्राप्तिमा सहयोग पुगेको बताए ।
 
वल्र्ड भिजन इन्टरनेशनल नेपाले कारपेट ६ सय ५० मिटर २ लाख ६१ हजार १ सय १८ रुपैयाँ, पि(फोन ९ सय ५० मिटर १ लाख ३५ हजार २६१ रुपैयाँ, चकटी १५ सय गोटा २ लाख २२ हजार ७ सय २० रुपैयाँ, डेस्क ५ सय गोटा ७ लाख ६१ हजार ७ सय ६५ रुपैयाँ, सेतोपाटी ३६ गोटा १ लाख ६१ हजार १ सय ७४ रुपैयाँ, ढुवानी १ पटक ६१ हजार २० रुपैयाँ गरी जम्मा १५ लाख ४८ हजार २८ रुपैयाँ बराबरको सामग्री वितरण गरेको हो ।

कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, वडा नम्वर १ का अध्यक्ष मो. रजा राई, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, युवा खेलकुद तथा शिक्षा शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारी, मदरसाका शिक्षकहरु, गुरुकुलका शिक्षकहरु, वल्र्ड भिजन इन्टरनेशनल नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्