विपदको कहर: देशभरमा १३२ जनाको मृत्यु, ६२ जना बेपत्ता

आइतबार, असोज १३, २०८१

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी-पहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु भएको छ । यस्तै ६३ जना बेपत्ता हुँदा ७६ जना घाइते भएका छन् । 

गृह मन्त्रालयका अनुसार हालसम्म करिब ३५ सय जनाको उद्धार गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले काभ्रेबाट १ सय २४ जना भन्दा बढीको हवाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।बाढीपहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतको कामलाई सरकारले तीव्र बनाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेकाहरूको उद्धार गर्ने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए । सरकारले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन तदारुकताका साथ लाग्न निर्देशन दिइसकेको छ।

सरकारले देशभर मनसुनजन्य घटनाबाट प्रभावित भएकाहरूको खोज तथा उद्धार र राहतमा सबै सुरक्षा निकायहरू समन्वयात्मक रुपमा परिचालिन हुन्, खोज तथा उद्धारमा नेपाली सेनाको हेलिकप्टर लगायत, केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरमा उपलब्ध सबै उपकरण र साधनको प्रयोग गर्न निर्देशन दिएको छ ।

यसैगरी अवरुद्ध सडक अविलम्ब सञ्चालनमा ल्याउन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन र प्रभावितहरूको पुनर्स्थापनाका लागि योजना बनाई कार्यान्वयन गर्न पनि सरकारले निर्देशन दिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्