सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । लगातारको भीषण वर्षासँगै कोशी प्रदेशमा आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । बाढी र पहिरोबाटो ९ जना बेपत्ता भएका छन् ।
कोशी प्रहरी प्रहरी कार्यालयका अनुसार पाँचथरमा ४ र धनकुटामा १ जनाको मृत्यु भएको छ । पाँचथरमा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । खोलाले बगाउँदा झापा, मोरङ र इलाममा ५ जना बेपत्ता भएका छन् ।
पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले घर पनि पुरिएको छ ।
पाँचथरको फिदिम नगरपालिका– १ साँगेबोटेमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी फिदिम नगरपालिका– १ कात्तिके घर भइ फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ । फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ पर्षीय धनकुमार तुम्बापो, २१ वर्षीय सरस्वता तुम्बापो बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना घाइते छन् ।
प्रहरीका अनुसार मृतक र बेपत्ता फुरुङ्गा हाइड्रो पावर कम्पनीमा काम गर्ने कर्मचारी हुन् । उनीहरु स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए । विहान करिब ५ बजे खसेको पहिरोले घरमा रहेको पशुचौपाय पनि पुरेको छ ।
धनकुटाको पाख्रीबास नगरपालिका– ५ शनिबार बिहानको करिब ३ बजे खसेको पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु आमा छोरी रहेको प्रहरीले बताएको छ ।
बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । शुक्रबार साँझ कचनकवल गाउँपालिका–१ का पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका जमुवा खोलामा बेपत्ता भएकी छन् ।
खोला तर्ने क्रममा उनी बेपत्ता भएकी हुन् । कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् ।
गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट गौरीगञ्ज–२ का ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी छ ।
शुक्रबार दिउँसो इलामको माइ नगरपालिका ८ स्थित सेते खोला तर्ने क्रममा स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बू बेपत्ता भएका छन् । त्यस्तै मोरङको रतुवामाइ नगरपालिका ७ बस्दै आएका ७२ वर्षीया डुरोदेवी राजवंशी रतुवाखोला तर्ने क्रममा बेपत्ता भएकी छन् ।